CDOLIVE.IN

  Wednesday , November 22 , 2017 2:45AM


भारत सरकारले देशमा गोर्खाहरूको जनभावनालाई सम्मान गर्नुपर्छ – सतपाल महाराज

post_image
सतपाल महाराजले छुट्टै राज्यको मागलाई समर्थन जनाउँनु हुन्दै

नई दिल्ली 16 अगस्त- गोर्खाहरूको छुट्टै राज्यको मागमाथि आफ्नो पूर्ण समर्थन रहेको पूर्व केन्द्रीय मन्त्री सतपाल महाराजले बताएका छन्। पूर्व केन्द्रीय मन्त्री सतपाल महाराजले छुट्टै राज्यको मागलाई समर्थन जनाउँदै भारत सरकारले देशमा गोर्खाहरूको जनभावनालाई सम्मान गर्नुपर्ने थप बताएका छन्।“भारत सरकारले देशमा गोर्खाहरूको जनभावनालाई सम्मान गर्नुपर्छ। उनीहरूले राष्ट्रको सुरक्षा एवं निर्माणमा ठूलो योगदान दिँदै आईरहेको छ”,महाराजले भने।

नेपाली भाषाको संवैधानिक मान्यताको निम्ति सन् 1985 मा सिलगढ़ीदेखि दार्जीलिङ्ग पहाड़ हुँदै सिक्किमको राजधानी गान्तोकसम्म आफूले जन जागरण पदयात्रा गरेको कुरा सम्झना गर्दै नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचिमा मान्यता प्राप्त भएकोले यसलाई कसैले हस्तक्षेप गर्न नहुने कुरो महाराजले बताएका छन्। गोर्खाहरू भारतका खाँटी नागरिक हुनाको साथै आफ्नै भाषा तथा संस्कृति भएकोले उनीहरूको छुट्टै राज्यको मागमाथि पूर्ण समर्थन रहेको तर यसको प्राप्तिको लागि अनिश्चितकालिन बन्द र आमरण अनशन मात्रै आन्दोलनको मुख्य आधार नभएको कुरा पूर्व केन्द्रीय मन्त्री महाराजले बताएका छन्। यसको लागि बौद्धिक लड़ाई लड़नु पर्छ भन्दै महाराजले क्षेत्रीय सांसदको ठूलो भूमिका रहेको हुन्छ भनी बताएका छन्। 

उत्तराखण्ड राज्य निर्माणको आन्दोलनको क्रममा आफु त्यसताक सांसद रहेको र छुट्टै राज्यको निम्ति बौद्धिक लड़ाई लड़ेर तत्कालिन प्रधानमन्त्रीद्वय एचडी देवगौड़ा र इन्द्रकुमार गुजरालद्वारा लालकिल्लाको प्राचीरबाट उत्तराखण्ड राज्य निर्माणको घोषणा गराउन सफल भएको सतपाल महाराजले बताएका छन्। “दार्जीलिङ विश्वको एक प्रयटकीय स्थल भएकोले पर्यटकहरू त्यहाँ घुम्न जान्छन्। पर्यटकहरूलाई आकर्षण गर्ने काम त्यहाँका मानिसहरूले गर्नुपर्छ। लगातार बन्दले गर्दा त्यहाँ नकारात्मक असर पर्न सक्छ। मानिसहरूको आर्थिक आधार कमजोर हुँदै जान्छ अनि गरीब मानिसहरूलाई ठूलो मर्का पर्छ। 

यसैले मानिसहरूको मूलभूत समस्याहरूलाई पनि समाधान गर्दै बौद्धिक आन्दोलन गर्नुपर्छ। सरकारसँगको पटक पटक वार्ताहरूले समाधानको बाटो निस्कन सक्छ भन्दै आफ्नो पक्षबाट पनि छुट्टै राज्य निर्माणमा सहयोग गर्ने वचन राख्दै देशमा गोर्खाहरूको समस्या समाधानको कामना गरेका छन् साथै जनमानसमा अध्यात्मको विकास पनि अनिवार्य रूपमा हुनुपर्ने पूर्व केन्द्रीय मन्त्री सतपाल महाराजले मन्तव्य व्यक्त गरेका छन्।




Leave comment