CDOLIVE.IN

  Thursday , January 18 , 2018 11:09PM


इपीजी बैठक दिल्लीमा, 1950 को सन्धिका बारे केन्द्रित

post_image
इपीजी बैठक दिल्लीमा भाग लिएका अधिकारीहरू

नई दिल्ली 11 जनवारी- भारत र नेपाल माझ सन् 1950 को सन्धीलगायत द्विपक्षीय समग्र सम्बन्ध पुनरावलोकन गरी सिफारिस गर्न गठित प्रवुद्ध समुह (इमिनेन्ट पर्सन्स् ग्रुप) को छैठौं बैठक भारतको नयाँदिल्लीमा बिहीबार शुरू भएको छ। द्विपक्षीय सम्बन्धमा विवादका रुपमा रहेको सन् 1950 को सन्धिका वारेमा इपीजीमा दुबै पक्षबीच बुँदागत छलफल भए पनि भारतको तर्फबाट नेपालको प्रस्तावमा प्रष्ट जवाफ आएको छैन । यो बैठकमा नेपालले अघिल्लो बैठकको निरन्तरताका रुपमा 1950 को सन्धिमा बारे धारणा राखेपछि भारतका तर्फबाट पनि धारणा राख्ने काम हुनेछ । स्रोतका अनुसार, नेपालले सन्धिलाई समयसापेक्ष बनाउनु पर्ने, त्यसका लागि यसलाई खारेज गरी नयाँ सन्धि गर्ने धारणासमेत राख्नेछ । भारतले सन्धिलाई संशोधन गर्न सकिने बताउँदै आए पनि खारेज गरी नयाँ गर्ने बारेमा कुनै धारणा राखेको छैन । यसअघि नेपालमा भएको पाँचौं बैठकमा सन्धिको पृष्ठभूमी, हस्ताक्षरकर्ता र अन्तर्वस्तुका वारेमा नेपालका तर्फबाट बुँदागत विश्लेषण, त्यसमाथि नेपालको प्रस्ताव सहित धारणा राख्ने काम भएको थियो ।

त्यसमा भारतीय पक्षबाट सन्धिलाई पुनरावलोकन गर्न भारत तयार रहेको भन्दै केही बुँदालाई समयानुकूल बनाउने धारणा व्यक्त भएको थियो । सन्धिको धारा 2, 5, 6 र 7 सच्याउनु पर्ने नेपाल पक्षको मागमा भारतीय टोली सकारात्मक भएको थियो । काठमाडौंमा बसेको इपिजीको पाँचौँ बैठकमा खुला सिमाना बन्द नगर्ने, तर आवतजावत अनुगमन गर्ने सहमति भएको थियो । त्यस्तै बैठकमा नेपाल–भारत सिमानामा जनताको आवतजावत अनुगमन गर्ने संयन्त्र बनाउनु पर्नेमा सहमति भएको थियो । भारतका तर्फबाट विज्ञहरुले अन्य छलफलमा उक्त सन्धि नेपालकै पक्षमा रहेको भन्दै नयाँ सन्धिले नेपालले अहिले पाएको ‘राष्ट्रिय व्यवहार’ पाउन नसक्ने बताउँदै आएका छन् । बैठकमा भाग लिन दिल्ली जानुअघि प्रबुद्ध समुहका सदस्यहरुले ‘वेटिङ प्राइममिनिष्टर’ एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेको थियो । त्यसक्रममा समुहका तर्फबाट संयोजक भेषबहादुर थापा र सदस्य राजन भट्टराईले तीन प्रमुख नेताहरुलाई छैठौं बैठकसम्म आइपुग्दाका बिकासक्रम र अव हुने बैठकका एजेण्डा, त्यसमा इपीजीको तयारी राख्दै सुझाव÷सल्लाह पनि माग गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला भारतको राजकीय भ्रमणका क्रममा इपीजीको घोषणा भएको थियो। त्यसमा दुबै तर्फबाट रहने चार-चार जनाको समुहको नामसमेत घोषणा भएको थियो ।

समुहका सदस्य राजन भट्टराईका अनुसार, नेपाल र भारतबीच विवादका रुपमा रहेको सन् 1950 को सन्धि, सीमा व्यवस्थापन, जलस्रोतको उपयोग र व्यापार–पारवहनका सबै बिषयमा छलफल भइसकेको छ भने अव ती विषयमा दुबै पक्ष बीच सहमति जुटाउने काम हुनेछ । दुई बर्षको कार्यकाल भएको इपीजीले हरेक तीन तीन महिनामा बैठक गर्दै आएको छ । अवको ६ महिनाभित्रमा इपीजीले दुबै देशलाई सिफारिस गर्नुपर्छ । त्यसका लागि प्रतिवेदन लेख्ने काम अव सुरु गर्नुपर्ने हुनाले अव सबै विवादका बिषयमा सहमति जुटाउने धेरै समय समुहसँग छैन । समुहमा नेपालका तर्फबाट, थापा, भट्टराई, पूर्वमन्त्री निलाम्वर आचार्य र पूर्वसचिव तथा अख्तियारका पूर्व प्रमुख सूर्यनाथ उपाध्याय छन् भने भारतका तर्फबाट सत्तारुढ भाजपाका उपाध्यक्ष भगतसिंह कोसियारी, पूर्व राजदुत जयन्तप्रसाद, प्राध्यापक महेन्द्र पी लामा र प्राध्यापक बीसी उप्रेती छन्, बैठक शुक्रबार सकिनेछ । एजेन्सी




Leave comment