CDONETWORK

  Sunday , July 5 , 2020 5:03PM


मजदुरको दिर्घकालिन व्यथा: उदासीन सरकार

post_image
मजदुरको दिर्घकालिन लेख

लेख- मजदुरहरु बिचरा सावित हुन - बनाइनु पटक्कै अस्वाभाविक होइन । बिजोग हुने नै मजदुरको हो । अझ हाम्रोजस्तो अार्थिक-सांस्कृतिक सामाजिक पर्यावरणमा उनीहरू राजनीतिक हतियारमात्र बन्ने हुन् । आपतमा तिनको कोही हुन्न । मजदुरहरुको परिकल्पना पनि एउटा सापेक्ष जडता हो । सभ्य र उन्नत मानव समाजमा मालिक र मजदुरबीच एउटा सबल पक्षको उपस्थिति हुन्छ,जसले मालिकलाई ठग्न-ठगिन दिन्न अनि  मजदुरका हकमा तिनको ज्यान र परिवारको रक्षाका लागि निश्चित नीतिलाई कठोरतासाथ पालन गर्छ । त्यो राज्य हो । तर,सिक्किम राज्य छ र ? छ भने ती मजदुर वा मजदुर जस्तै कमजोर वर्ग (विधार्थी,साना तहका कर्मचारी शिक्षक,प्राविधिक ,पत्रकार ,बेरोजगार युवालगायत) बुई चढेर राजनीतिक वा शासन सत्तामा चढनेहरु एवम् तिनका अाडमा रजाइँ गर्ने बिचौलियाहरुका लागि मात्र छ । अब ती बिचरा मजदुर किन शहरको कोरोना कहरबाट भागे भन्ने प्रश्नमा जाउँ । ती किन बसुन ? कसको विश्वासले बसुन ? 

तिनीहरूको कार्यअवस्था , सुविधा र सुरक्षणबारे निरन्तर सूचना राख्ने,तदअनुरुप कदम चाल्ने राज्यको संयन्त्र छ ? अब कुन मनोविज्ञानमा तिनीहरू शहरमा थुप्रिएर बस्न सक्छन् । अहिले त " संसारका मजदुर एक हौं " भन्ने सिक्किम क्रान्तिकारी मोर्चा पार्टी सर्वशक्तिमान भएको अवस्था छ । तर,उसले इतिहास कै सबैभन्दा बलियो सत्ता पाएको एक वर्ष नाघिसक्दा मजदुरको नाममा गान्तोकका शहर,सडकका पोलमा मुख्यमन्त्री का तस्वीर झुन्डायाउने बाहेक के गर्न सक्यो ? यसो भनेर हरेक मजदुरलाई गान्तोक वा सदरमुकाम वा अौधोगिक चहलपहलका शहरम‌ै घर किन बनाइदिएन भन्न खोजेको होइन । मजदुरका लागि तोकिएको न्युनतम तलबमानले अहिले उसको परिवार पालिन्छ ? त्यतिले दालभात खान पुग्ने भए शिक्षा,स्वास्थ्य र भविष्य व्यवस्थापन चाहिँ सरकार ग्यारेन्टी बसेको छ ? पूर्व सरकार र अहिले को परिवर्तन सरकारमा के भिन्नता रहयो । सरकार कठोर शहरिया मजदुरी माथिको निर्भरता हटाउन नयाँ लाभप्रदायक क्षेत्रमा कति नयाँ रोजगारी सिर्जना गरयो ? गुणस्तरीय रोजगारी सिर्जनालाई संख्यात्मक लक्ष्यमा राखेर कामगर्ने एवम् त्यसबाट सकेसम्म सिक्किमे जनतालाई बढी लाभान्वित गराउने फुर्सद राज्यलाई कहिले मिल्यो ? हाम्रा मुख्यमन्त्रीले यसका लागि एकवर्षमा कतिदिन स्वास्थ्य भएर राम्रोसँग काम गर्न भ्याए ? यी प्रश्न  परिवर्तन सरकारलाई गर्ने कुरामा म विश्वास गर्दिनँ । प्रश्न ती मजदुर का लागि हो , जो तातो घाममा दिनहुँ वैतरणी यात्रा तय गर्दैछन् र ,तिनका लागि मोटामोटी दुई पक्षमात्र यतिबेला सरोकारिता भएको देखिन्छ - सामाजिक संजालमा सहानुभूति र क्षोभमिश्रित तस्वीर भाण्य पोस्ट गर्ने जमात एवम् मजदुरभन्दा सरकारसँग बढी सहानुभूतिशील भई प्रतिरक्षा गर्नेहरु ।

राजनीति गर्नेलाई विभाजित हुन र मतरोपनका लागि डयाङ खन्न त्यहीँ बीउ पर्याप्त जो भइगयो । केही दिनअघिसम्म अपर्झटको घरायसी फुर्सदमा म : मदेखि हलुवा पकाएकोसम्म तस्वीर हाल्नेहरु,दुनियाँलाई कलिलोकाया देखाउनेदेखि सरकारमाथि सर्वथा अविश्वास गर्ने,अनि भ्रष्ट सरकारको बचाउमा अझै रगत बगाउँछु भन्नसम्म भ्याउने सबैलाई अहिले मजदुर बिजोगले पनि दुई फरक कित्तामा उभ्याएको छ - " सिक्किम क्रान्तिकारी मोर्चा पार्टी " र " सिक्किम प्रजातान्त्रिक मोर्चा " । सिक्किमका मजदुरलाई यो संजाल अभ्यासले केही छुनेवाला छैन,कहीँ पनि । मालिक ऐन मौकामा अलिकता दयालु भइदेअोस , पैसा नभए पनि अस्पतालले उपचार नरोकोस,थोरै 

शुल्कमा बालबच्चा पढ्न पाउन । अनि श्रमको सम्मान होस् । फोहोर उठाउनेले पनि स-साना " दाज्युभाइ" वा दिदीबहिनी " भन्नेसम्मको सम्बोधन पाअोस । बस, यतिका लागि राज्यले सुरक्षाको काम गरोस् । यो होला भनेर कम्तीमा उनीहरुलाई कसैबाट विश्वास छैन । तर,यति चाहिँ पक्का छ हरेक पाँच वर्षमा उनीहरूले हुनसम्मको नक्कली भाउ पाउँछन् ,गाउँ ( गाउँमा खसी काटिन्छन् ,रक्सीको भेल बगाइन्छ । गोजीमा पहेंला,हरिया ( अलि पहिले राता पनि छापवाला नोट पनि अाउँछन् । वर्षमा एकपटक जनावरको समेत पुजन हुने समाजमा मजदुरको चाहिँ हरेक पाँच-पाचँ वर्षमा हुन्छ । अहिलेको सन्दर्भमा उदारताका केही फुटकर दाबी र संकल्पबारे कुरा गरौं । राजधानी गान्तोकका नगरपिताले कोही मजदुर भोकै परे खबर गर्नोस् भनेछन् । यो जसले पनि भन्नसक्छ,तर मजदुरले यो लकडाउनमा भोजनदाता खोज्दै कहाँ हिँड्ने ? वा कुनै त्यस्तो हटलाइन छ जसले भोकालाई लन्च वा डिनर प्याक पुरयाइदेअोस ? सामान्य अवस्थामा हुनेखानेले अनलाइन अर्डर गरेरै रोजेको खाना खान पाउँछन् ,अहिले दिनहीनले हटलाइनमा पुकार गर्ने व्यवस्था गरेको भए हुन्थ्यो कि ? हामीले सम्झी राख्नुपर्छ,मजदुरको भोक वा बिजोगलाई सस्तो लोकप्रियता को माध्यम बनाउन खोज्ने कुनै पनि स्टन्ट वा हर्कतले भोलि समाजलाई झन् -झन ढोँगी बनाउने काममात्र गर्नेछ। कम्तीमा हामी भारतीय राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले जस्तो सम्पूर्ण अाफ्ना कार्यकर्तालाई मजदुरहरुको सहयोगमा सुरक्षित ढंगले उत्रन अाव्हान गर्न सक्नुपर्छ । विपक्षी पार्टीहरुलाई सामाजिक संजालमा बहुमत राख्ला तर अहिले मजदुरको सहयोगमा खोइ अाफ्ना युवा स्वयंसेवक खटाएको अहिले भर्खरै परिवर्तन सरकारलाई SKM गालीमात्र गरेर कर्तव्य पूरा गर्न सक्दैन । सेवामा प्रतिस्पर्धा गर्ने संस्कृतिको खाँचो छ यो क्रान्तिकारी परिवर्तनलाई । 

मजदुरलाई भात पुरयाउन जाँदा पुलिसले लाठी ठोक्यो भने चाहिँ बरु परेका ठाउँमा भिडे हुन्छ । " कोरोना " महामारी जतिको विपत्तिका लागि संसारका थोरैमात्र समाज संगठितरुपले तयार थिए भन्ने अहिले सर्वत्र प्रष्ट भइसकेको छ । अमेरिकामा फैलिँदो सामाजिक- अार्थिक-राजनीतिक विश्रृङखलता यसको सबैभन्दा चोटिलो उदाहरण हो । धन,शक्ति मात्र भएर नपुग्ने रहेछ , अनुशासन र व्यवस्थापन पनि चाहिने रहेछ भन्ने कुरामा यतिबेला  गरेर देखाउने मुलुकहरु दृष्टान्त दिन सकिन्छ । जर्मनीले अहिले सबै क्षेत्रका मजदुरलाई कामै नगरेर पनि सरकारको जमानीमा 67% प्रतिशत तलब दिइरहेको छ ।  सामान्य अवस्थामा जर्मनी कसैलाई पनि ठगेर मात्र जीवन जागिर वा पेशा निर्वाह गर्न छुट दिने मुलुक होइन ।

सानो राज्य सिक्किममा न अमेरिकाजस्तो धनशक्ति छ , न जर्मनीमा जस्तो उच्च राजनीतिक  - सामाजिक - अार्थिक सामर्थ्य अामसंस्कृतिमा परिणत भएको छ । त्यसका लागि कयौं दशक लाग्न सक्छ , अहिलेदेखि जनताका पक्षमा इमानदार भएर कामगर्ने हो भने । तर वर्तमान सरकारले यसतर्फ कुनै सामान्य लक्षण पनि देखाउन सकेको छैन । सिक्किमे जनताले विभिन्न युग,वाद र तन्त्र खेप्ने क्रममा जमीनको तिरो तिरेकै छन् , कर उठेकै छ । निर्धनका हकमा कानुनको यो भन्दा बढी कठोरता , सत्ताको यो भन्दा बढी उत्पीडन अन्त कहीँ शायदै होला । अब फेरि इतिहास चक्रले नेतृत्वको परीक्षण गर्ने जस्तो लाग्दैछ । जनताले अनुभवका अाधारमा प्रगतिशील संस्कृति निर्माण गर्दै जाने सत्यतामात्र अब  हामीकहाँ बाँकी छ । -- नत्र " कोरोनाले " संसारमा ल्याउने भनिएको विपत्ति हामीले फरक स्वरुपमा पहिले नै भोगिसकेको हो। यहाँभन्दा बढी दु:ख पाउन सिक्किमे जनता लायक छैनन् । त्यस हिसाबले अब स्वयं सचेत हुने , कष्टमा परेका जोकोहीलाई भरमग्दुर मद्दत गर्ने,डाक्टरहरुले सार्वजनिकरुपमा भनेका कुरा मान्ने,कानुन मान्ने , सम्भव भएसम्मका ठाउँमा मेहनत गर्नेबाहेक उपाय छैन । तर,यो संकटको अनुभवबाट हाम्रो राजनीतिक ल्याकत परीक्षण चाहिँ चुस्त र विवेकशील चाहिँ बन्दै जानुपर्छ , ताकि भोलिका दिनमा सन्ततिहरुले अहिलेजस्तो दुर्दिन देख्न नपरोस् । भोलि हाम्रा सन्तति विभिन्नरुप वा स्तरका मजदुरीमा हुँदा अहिलेजस्तो बाटोमा लडन नपरोस् ।

[युवराज घलेभाइ]

अप्पर बुर्तुक हेलिपेड रोड गान्तोक पूर्व सिक्किम 

(स्वतन्त्र लेखक) 

Related Photos




Leave comment