CDOLIVE.IN

  Friday , September 22 , 2017 8:03AM


सिक्किमका पूर्व मुख्यमन्त्री नरबादुर भण्डारीको निधन

post_image
पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको आइतबार निधन

गान्तोक 17 जुलाई- सिक्किमको राजनैतिक इतिहासका एक स्तम्भ एवं सिकिकमको सिङगो इतिहास बोकेका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको आइतबार निधन भयो। आइतबार अपरान्ह लगभग चार बजी नयाँ दिल्लीको एउटा अस्पतालमा उनले अन्तिम स्वास लिए। केही समयदेखि अस्वस्थ भएर उपचारको निम्ति उनी नयाँ दिल्लीमा थिए। 1973 को जनअन्दोलनमा उनको ढाड़मा सीआरपीएफले लाठी हिर्काएको हुँदा अहिले आएर त्यसको पीड़ा बल्झिएको थियो। केही समय देखि उनी मेरूदण्डको पीड़ाले ग्रस्त भएपछि नयाँ दिल्लीको विभिन्न अस्पतालमा उपचार गराउँदै आएका थिए। यसै उपचारको क्रममा दिल्लीको प्राइमस अस्पतालका चिकित्सकहरूको सल्लाह अनुरूप गत शुक्रवार उनको मेरूदण्डको शल्यक्रिया भएको थियो। शल्यक्रिया पछि आइतबार अचानक अस्पतालमै उनले अन्तिम स्वास लिए।

भण्डारीको निधनको खबरले समग्र सिक्किम शोकमा डुबेको छ। 76 वर्षीय नरबहादुर भण्डारी सिक्किमका पूर्व मुख्यमन्त्री हुनका साथै भारती नेपालीभाषी समुदायका एक अभिभावकतो रूपमा परिचित छन्। प्रजातान्त्रिक सिक्किमको निर्माथाको रूपमा परिचित भण्डारीको जन्म 5 अक्टोबर 1940 मा पश्चिम सिक्किमको सोरेङ स्थित मलबाँसेमा भएको हो। नरबादुर भण्डारीले सिक्किमको प्रजातान्त्रिक आन्दोलनमा आफूलाई सम्पूर्ण रूपमा होमिदिएका थिए। उनले 1979 देखि 1994 सम्म तीनपल्ट मुख्यमन्त्रीको पदमा रहेर सिक्किमलाई सेवा पुऱ्याएका थिए। 1994 देखि 2004 सम्म दश वर्ष उनले विधायकको हैसियतमा विपक्षमा बसेर जनसेवाको काम गरे। दार्जिलिङको सरकारी महाविद्यालयबाट स्नातक गरेका भण्डारीले शिक्षण पेशाबाट आफ्नो यात्रा गरेर पछि सक्रिय राजनीतिमा पाइला राखे अनि जनताको सेवामा आफ्नो सम्पूर्ण जीवन न्यौछावर गरे।

भण्डारीको निधनले सिक्किमको राजनीतिमा एउटा युगको अन्त भएको छ। आफ्नो मुख्यमन्त्रीत्वकालमा उनले भारतीय नेपाली समाजलाई एकजुट गराउन र भारतीय नेपालीहरूलाई सुरक्षा प्रदान गर्ने लक्ष्य राख्दै त्यस दिशामा पहल गरेका थिए। उनकै पहलमा नेपाली भाषाले देशको संविधानको आँठौ अनुसूचिमा अन्तर्भुक्ति पाएको हो।

आफ्नो राजनीतिक जीवनमा कस्तै परिस्थिती आएपनि जनसेवालाई नभुल्ने अनि झुक्न नमान्ने स्वभावका भण्डारी धेरैपल्ट जेल पनि जानुपऱ्यो। मानव सेवा सँगसँगै जातिको सेवातो लागि संधै आफूलाई तत्पर राख्ने भण्डारीको निधनको खबर फैलिनसाथ समग्र सिक्किम शोकमा डुब्यो। उनको निधनको खबरले भारतभरिका नेपाली भाषी समुदाय शोकित बन्दै समवेदनाहरू व्यक्त गरिरहेका छन्।

नरबहादुर भण्डारीले आफु पछि श्रीमती दिलकुमारी भण्डारी(पूर्व सांसद), तीन छोरीहरू, एक छोरा तथा नाता नतिनाहरू छोड़ेर गएका छन्।  

Related Photos




Leave comment