CDOLIVE.IN

  Saturday , May 26 , 2018 7:48AM


शीतकालीन आध्यात्मिक युवा जागरण सम्पन्न

post_image
गणतंत्र दिवस अवसरमा मानव सेवा दलले सलामी दिदै

मगंरजुङ्ग 26 जनवरी -मानव उत्थान सेवा समिति मिरिक तहसिलको तत्वावधानमा मगरजुङ चियाबारीको कर्णबीर गाउंमा दुई दिनको शीतकालिन आध्यात्मिक युवा जागरण शिविरका साथै गणतंत्र दिवस अनि श्री विभूजी महाराजको जन्मदिवस बड़ो भव्य रुपमा पालन गरियो । 25 जनवरीदेखि 26 जनवरी सम्म चलेको कार्यक्रममा समितिको विभिन्न शाखाहरूबाट मानव सेवा दलका सदस्यहरू र युवा कार्यकर्त्ताहरू उपस्थित भएका थिए । अनि प्रत्येक दिन विहान साधना शिविर, शारिरिक प्रशिक्षण, स्वच्छता अभियान, कविता तथा निबन्ध प्रतियोगिता, नानीहरूको निम्ति चित्र बनाऊ प्रतियोगिता तथा बक्तव्य आदि द्वारा युवाहरूलाई आध्यात्मिक जागरणको निम्ति प्रेरित गरिएको थियो । शिविरमा मानव उत्थान सेवा समितिमा युवाहरूको भूमिकामाथि राङभाङ उच्च विद्यालयका शिक्षक प्रवीण गजमेरले विचारहरू राखे उसरी नै  खरसाङ भिक्टोरिया स्कूलका शिक्षक श्री कुमार योञ्जनले युवा अनि अध्यात्ममाथि गहन बक्तव्य राखेका थिए, ड्रिमल्याण्ड स्कूल, छब्बिसेका प्राचार्य विरेन छेत्रीले युवाहरूमा शिक्षाको महत्व बारे बक्तव्य राखेका थिए भने सरोज गुरुङले अध्यात्म अनि विज्ञानमाथि वार्ता राखेका थिए।  प्रथम दिनको साँझ अध्यात्म जागरणको नारा लगाउंदै कर्णवीर गाउंमा मोम बत्ती जुलुस आयोजन गरिएको थियो । जुलुस पछि साँझमा मगरजुङको राज राजेश्वरी कीर्ति धाममा आयोजित सत्संग कार्यक्रममा मानव उत्थान सेवा समिति उत्तर पूर्बाञ्चलका उपाध्यक्ष प्रकाश हाङखिम र मिरिक तहसिल अध्यक्ष महात्मा देविका बाईजीले युवाहरूलाई मानव उत्थान सेवा समितिको लक्ष्य र उद्धेश्यमाथि विचारहरू राख्दै आज समाजको सामग्रिक उन्नतिको निम्ति युवाहरूले आध्यात्मिक सचेतनाको साथमा आफ्नो व्यक्तित्वको विकाश गर्नुपर्ने कुराहरूमाथि जोड़ दिएका थिए । 26 जनवरी गणतंत्र दिवसको कार्यक्रममा मगरजुङ कमानका मूख्य प्रबन्धक श्री ए वी गुरुङको मूख्य आतिथ्यमा मूख्य अतिथीहरू सह प्रबन्धक नविन राई, मित्र सर, ओरेञ्ज भेल्ली जुनियर हाई स्कूलका प्रधान अध्यापिका रोशनी राई को उपस्थितिमा आयोजित कार्यक्रममा मूख्य अतिथीले दीप प्रज्ज्वलन गर्दै राष्ट्र ध्वज उत्तोलन गरेपछि वालसभाका कालाकारहरू शिवानी र साथीहरूले देशभक्ति गीत प्रस्तुत गरेपछि पानीघट्टाबाट आएकी ज्योति थापा, नेपालबाट आएका जयराम राई, खरसाङका कुमार योञ्जन, महात्मा विशाखा बाई अनि महात्मा देविका बाईले मानव जीवनमा अध्यात्मको महत्व अनि सामाजिक उत्थानको निम्ति युवाहरूलाई मार्ग निर्देशन गर्नको निम्ति अध्यात्मको भूमिका महत्वपूर्ण रहेको कुराहरूमाथि विचारहरू राखे । बक्ताहरूले मानव धर्मका प्रणेता सद्गुरुदेव श्री सतपालजी महाराजको लक्ष्य भारतलाई विश्व गुरुको रुपमा प्रतिष्ठित गराउनु रहेकोले देशहितको निम्ति सम्पूर्ण भारतीयहरूले राष्ट्रोत्थानको निम्ति अग्रसर हुनपर्ने कुरामा जोड़ दिए । माउसेस मिरिक तहसिल सचिव रोहित प्रधानले संचालन गरेको कार्यक्रमको अध्यक्षता महात्मा देविका बाईजीले गरेकी थिइन् अनि समितिका उत्तर पूर्बाञ्चल सूचना प्रसार सचिव माधव बुढ़ाथोकी, मानव सेवा दल उत्र पूर्बाञ्चल प्रान्तपाल दिपक राई, जिल्ला सचिव ललित निरौला, युवा जिल्ला संयोजक दिपङ्कर राई मिरिक तहसिल भाग दुईका सचिव जगत देवसालीको पनि उपस्थिति रहेको थियो भने अमीर सुब्बाले धन्यबाद ज्ञापन गरेका थिए।  

प्रेषक – माधव बुढ़ाथोकी 

सूचना तथा प्रचार सचिव माउसेस, उपूक्षेत्र ।




Leave comment