CDOLIVE.IN

  Friday , September 22 , 2017 8:07AM


अध्यात्म र विज्ञान

post_image

अध्यात्म (सनातन धर्म) र विज्ञान p;धर्मले जीवन र जगतको सुरुवात भगवान को सत्तासंग जोडेर गरेको छ । अहिले सम्मका विद्वान्हरूका खोज र तथ्यलाई मान्ने हो भने पूर्वीय दर्शनले पांच हजार वर्ष पहिले नै बेद र उपनिसद जस्तो उत्कृष्ट शास्त्र मानव सभ्यतालाई उपहार दिएको छ, जसले जीवन र जगतको सम्बन्धका बारेमा माथिल्लो स्तरमा व्याख्या गरेको छ । अर्कोतिर विज्ञानले दुईसय वर्ष अघिको डार्बिनको Evolution Theory लाई पछ्याउंदै आएको छ । समय चक्रका हिसाबमा पनि विज्ञान भन्दा धर्म निकै जेठो, अनुभवी र जीवनका रंगहरु अलि धेरै नै भोगेजस्तो लाग्छ । धर्म अधबैंसे मानिस जस्तो, विज्ञान भर्खरै जुंगामा रेखी बसेको निस्फिक्री जवान जस्तो, जो बिना लगामको घोडा हुन चाहन्छ । जसलाई बन्देज, अनुशासन र सिमिततासंग घृणा छ ।
विज्ञान हरेक चिजलाई हेर्न चाहन्छ, फोर्न चाहन्छ, देख्न चाहन्छ, छुन चाहन्छ, भोग्न चाहन्छ । यसलाई कुनै पनि वस्तु टुक्रा टुक्रा बनाउन मन पर्छ । त्यसैले यो Atom बाट Newtron, Proton र Electron  हुंदै Quanta सम्म पुग्यो र यो अहिले Higgs Boson मा आएर अड्किएको छ । भर्खरै Gravitational Wave लाई हेर्न सकिने भन्दै श्रृष्टीको सुरुवात नजिक पुगेको भनेर तरंग पैदा गरिदिएको छ । अमेरिकामा राइट ब्रदर्स ले भुईं छोडेको दिन देखि यसले मंगल ग्रह सम्मको यात्रा तय गरिसकेको छ ।
तर, अर्कोतर्फ अध्यात्म अनुशासन चाहन्छ । मुनीहरूका व्याख्यालाई मान्ने हो भने यसले बाहिरको होइन भित्रको यात्रा गर्छ र यो आत्मासम्म पुग्छ । परमात्मासंग बिलिन हुने लोभमा, जन्म र मृत्युको कर्म चक्रबाट बाहिर निक्लन चाहन्छ मानिस मोक्ष प्राप्तिको चक्करमा । वेदान्त दर्शनले यसलाई बढो सुन्दर ढंगले प्रस्तुत गरेको छ पूर्वीय दर्शनमा । अध्यात्मले कुनै पनि चिजलाई टुक्र्याएर होइन, जोडेर हेर्छ र त विक्षिप्त मानिसहरु धर्मको शरणमा पुगेको जोडिदिने गुरुहरु खोज्दै ।

पश्चिमा सभ्यताका महान हस्तीहरु मार्टिन लुथर किंग, बिटल्स देखि एप्पल कम्पनीका स्टिभ जब्स्सम्म बनारसको गंगा तट सम्म पुग्न भ्याए आफ्नो बेचैनी मन बोकेर, सम्वृद्धिको होइन शान्तिको खोजीमा । अझ भनौं आफ्नै खोजीमा । पश्चिमका महान् गायक बब डीलन नेपालको ठमेलका गल्ली गल्लीमा भौंतारिए । पशुपति, स्वयम्भू र बौद्धको कयौं चक्कर लगाए । टुक्रिंदा टुक्रिंदा जोडिन खोजिएको प्रयास हो त्यो ।
विज्ञान आंखाको कुरा गर्छ । अध्यात्म ज्योतिको, विज्ञान सुन्दर घर बनाउंछ । त्यस घरमा खुशी भर्छ अध्यात्म । मूल्यवान् घडीको आविष्कार गर्छ विज्ञान तर समयको महत्व धर्मले पढाउंछ । विज्ञान बाहिरको अंध्यारो चिर्छ, अध्यात्म भित्रको । एउटा शरीरको व्याख्या गर्छ अर्को आत्माको । एउटा ठोस अर्को तरल, एउटा पदार्थ अर्को चेतना ।
मुलतः मानिसको स्वभाव कल्पनाशील र सृजनशील हुन्छ र त्यही विज्ञानको सुन्दर आविष्कारले सभ्यतालाई बाहिरबाट सिंगार्न सक्यो । मनिसलाई गांस, बांस र कपास को उच्त्तम प्रवन्ध गरिदियो । रोगबाट मुक्त गरेर लामो आयु बनाइदियो । जीवनलाई भोग्नका लागि असिमित साधनहरुको आविस्कार गरिदिन्छ तर त्यही विज्ञानले बाटो बिराउंदा दोस्रो विश्व युद्धमा जापानको हिरोसिमा र नागासाकिलाई नर्कमा परिणत गरिदियो । मानिस दुःखी छ, अशान्त छ, त्यसैले अध्यात्मले यसलाई सहि मार्गमा ल्याउने प्रयास गर्छ । ठिक दिशातिर उन्मुख हुंदा दुःखले बुद्ध जन्माउन पनि सक्छ नभए एकाबिहानै छिमेकीको बगैंचाको रुखका हांगामा पासो लगाएर झुन्डि रहेको पनि भेटिन सक्छ मानिस ।
विज्ञानले जीवन छोटो छ भन्छ र छिटो भोग्न सिकाउंछ । यसले जीवनलाई सरल रेखामा यो बिन्दुबाट त्यो बिन्दुसम्म वा भनौं जन्म देखि मृत्युसम्म मात्र भनेर ब्याख्या गर्छ । तर, अध्यात्म जीवनलाई सरल रेखामा होइन, वृत्ताकार (सर्कल) संग तुलना गर्छ र भन्छ, न यसको सुरुवात छ न त अन्त्य नै । यो त चक्रीय प्रणालीमा आधारित छ । त्यसैले भागवत गीतामा दोस्रो अध्यायको बीसौं श्लोकमा श्रीकृष्ण अर्जुनलाई जीवन र आत्माको अर्थ बडो रहस्यमय दार्शनिक ढङ्गले अर्थ्याउंछन्ः
न जायते म्रियते वा कदाचि- न्यायम भूत्व भविता वा न भुय:।
अजो नित्य: शाश्वतोयं पुराणो -न हन्यते हन्यमाने शरीरे ॥२०॥
यो आत्मा न कुनै समयमा जन्मिएको थियो, न यो मर्छ नै । यसलाई फेरी उत्पन्न गर्न पनि सकिंदैन, यो त आजन्म छ, सनातन छ, पुरातन छ र शरीर मरेर पनि आत्माको नाश हुंदैन ।
विज्ञानले एनेर्जीको ब्याख्या र अध्यात्मले आत्माको ब्याख्या उस्तै उस्तै तबरले गरेका छन् । त्यो संयोग मात्र हो वा सत्यको खोजी समयले बताउला । तर, खोज भने दुवै तर्फ अवश्य छ ।
धर्मनै सबैथोक हो । जीवनलाई यसले मात्र निर्देशित गरेको छ भन्ने मूर्धन्य विद्वानहरु पनि आजको दिनमा विज्ञानको सहारा बिना जीवन बांच्न सम्भव छैन् । त्यसैगरी जीवको निर्देशन विज्ञानले मात्र गरेको छ भन्न सक्ने स्थिति पनि देखिंदैन ।
दोस्रो विश्वयुद्धताका अमेरिकाको म्यानहाटन प्रोजेक्ट (हाइड्रोजन बम बनाउने प्रोजेक्ट ) का नाइकेले न्यू मेक्सिकोमा पहिलो पटकको सफल आणविक परिक्षणपछि दिएको वक्तव्यमा भागवत गीताको श्लोक उच्चारण गर्दै यसो भनेका छन् “I am the death , I am the destroyer”. भौतिक शास्त्रमा विद्यावारिधि गरेका क्यामब्रीज विश्वविद्यालयका प्राध्यापक डा. ब्रायन डेविड (जो नोबेल पुरस्कार विजेता बेलायती नागरिक हुन्) ले वेदान्त दर्शन र श्यांख्यको दिमाग र बिचारको नियमसंग Quantum Field Related  छ यो नियम Operation and Distribution  या partical at atomic and molicular level भनेर घोषणा गरेका छन् जुन आफैंमा खोजपूर्ण छ र विज्ञानका विद्यार्थीका लागि एउटा राम्रो अनुसन्धानको विषय हुन सक्छ ।

अन्त्यमा, आजको मानिस कहिले धर्मतिर त कहिले विज्ञानतिर लागेको छ । मानिसको यो जीवन विज्ञानको प्रयोगशालामा राखिएको सिम्पल पेन्डुलम जस्तै भएको छ । मच्चिएर बिहान विज्ञानतिर हुईंकिएको मानिस धरमराउंदै अध्यात्मतिर आइपुग्छ बेलुका । यिनै दुई ध्रुवका बीचमा पिसिएको छ आजको हरेक मानिसको मन ।
माथिका घट्ना परिघट्नालाई नजिकबाट नियाल्ने हो भने धर्म वा अध्यात्म र विज्ञान एउटै पाटाका दुई सिक्का लाग्छन् । एउटा बिना अर्काको अस्तित्व सम्भव छैन् । एउटा फुल हो भने अर्को बास्ना हो । एउटा फल हो भने अर्को रस । दुबैको संगम नै पूर्णताको सुरुवात हो । घर निर्माण गर्न पर्खाल त उठाउनै पर्छ, भित्र र बाहिर छुट्याउनलाई । छानो त लगाउनै पर्छ आकाश र धर्ती छुट्याउन तर पर्खाल हटाउंदा, छानो हटाउंदा न भित्र न बाहिर, न तल न माथि । त्यस्तै छ विज्ञान र अध्यात्मको सम्बन्ध, अनि बिचमा झुन्डिएको मानिस । बीसौं शताब्दीका महान बैज्ञानिक अल्बर्ट आइन्सटाइन को यो भनाई सान्दर्भिक छ । उनी अगाडि भन्छन्, विज्ञान धर्म बिना लंगडो छ अनि धर्म बिज्ञानबिना अन्धो ।

बिहान शिर ठाडो पारेर आफ्नो कर्मयात्रामा निस्किएको मानिस दिनभरि विज्ञानका उत्कृष्ट आविष्कारका साथ काम गर्दा गर्दै थाकेर बेलुकी रक्सी भट्टीमा पुगेर टुंगिन्छ र शिर निहुरियाएर घर आइपुग्छ मध्यरात । फेरी अर्को बिहानी योगा र मेडिटेसनमा बस्छ । भजन सुन्छ, बत्ति बाल्छ, परमात्माको भक्ति गाउंछ र निहुरिएको शिर फेरी उंचो पारि बाहिरको दुनियां निक्लन्छ र दिनहुं उही नित्य कर्म दोहोर्याउंछ । हरेक युद्ध पछि , आफ्नै डरलाग्दा आविष्कार पछि, सपना भनेर चिनिएका वा भनिएका भौतिक सम्पति प्राप्तिपछि, परम सुन्दरी भनिएकाहरुसंगको भोग पछि, खै किन हो मानिस जहिले पनि शान्तिको खोजीमा भौंतारिएको छ । आफूलाई खाली शुन्य महशुस गरेको छ र कयौं पटक त आफ्नै जीवनलीला समाप्त गरिदिएको छ । यसरी विज्ञानको यन्त्रको सहयोगले तेज रफ्तारसंग दौडिराखेको मानिसको असन्तुलित, अनियन्त्रित र अमर्यादित मन र सपनालाई अनुशासित, मर्यादित र सन्तुलित बनाउन अध्यात्मको खांचो छ । त्यसैले बुद्ध भन्छन्, जसरी एउटा मैनबत्ती आगो बिना बल्न सक्दैन, त्यसैगरी मानिस आध्यात्मिक जीवन बिना सन्तुलित र सुखी तवरले बांच्न सक्दैन् ।




Leave comment