CDOLIVE.IN

  Wednesday , November 22 , 2017 2:40AM


योग भन्ने कि योगा?

post_image
योग

योग संस्कृत शब्द हो। अंग्रेजहरुले पनि आत्मसात गरेपछि यो शब्द संसारभरि फैलियो। तर अंग्रेजी भाषाका हरेक जसो शब्द हलन्त बोलिन्छन्। उनीहरु अजन्त बोल्नै सक्दैनन्। तसर्थ अंग्रेजी भाषा अकारान्त भाषा नभएकाले योग् लाई योग बनाउन Yog शब्दमा a थपे, जसले गर्दा आधा ग् पूर्ण ग हुन्छ। यसपछि योग् नभनेर योगा भन्न थालियो। यो पूर्णतया गलत ज्ञान हो। योगा भन्ने शब्द हुँदैन। योगलाई योगा भनिनु अंग्रेजी भाषाको कमजोरीलाई हामीले पछ्याउनु हो। यसरी योगा भन्ने शब्द बनाउनु अंग्रेजी भाषाको नै कमजोरी हो। योग के हो? योग आफैंमा एउटा धर्म हो। योग धर्म भनेको योगी हुनु हो, जसमा मनुष्यको जीवन कलालाई दृश्यावलोकन गर्नु भन्ने बुझिन्छ। योग गर्नु भनेको समाधिमा लीन हुनु हो। योग शब्द युज् धातबाट आएको हो जसको अर्थ हुन्छ समाधि। समाधि भनेको सम्झिनु हो, विचार गर्नु हो, वैचारिक धरातलमा उभिएर संसार नियाल्नु हो। योग भनेको नै त्यही हो। योगको उत्पत्ति शिवतत्वबाट भएको हो भन्ने मान्यता छ। शिव प्रकृति र पुरुषको संयुक्त स्वरूप हो। ऋषि पाणिनीले व्याकरणका जुन चौध सूत्रको निर्माण गरे त्यसको प्रथम झलक उनलाई शिवको नृत्यबाट प्राप्त हुन गएको हो र त्यसैका आधारमा नै उनले यी सूत्रहरुको निर्माण गरेको इतिहास छ। हिन्दु संस्कृतिमा वा भनौं सनातन संस्कृतिमा १२ वटा दर्शन छन्। छ वटा आस्तिक हुन् र बाँकी छ चाहिँ नास्तिक दर्शन। आस्तिक दर्शन भन्नाले भगवान मान्नु नै हो भन्ने हुँदैन, यसले वेदको अस्तित्वलाई मान्छ। अर्को छ नास्तिक दर्शन। यी दर्शनले वेदको अस्तित्वलाई मान्दैनन्। योग छ वटा आस्तिक दर्शनमध्येको एक हो। यस दर्शनका प्रणेता पतञ्जली हुन। पतञ्जलीले योगसूत्रको आविष्कार गरेका हुन्। यी योग सूत्रको मुख्य तथा गहन व्याख्या व्यासले गरेका छन्। यो व्याख्या व्यासभाष्यमा उल्लिखित छ। यी सम्पूर्ण व्याख्या र विचारको मुख्य स्वरूप नै प्रकृति र पुरुषको मिलन गराउनु हो। कतै कतै प्रकृति र पुरुषको पृथकत्व देखाउनु पनि योग मानिन्छ। तर यी सबको लक्ष्य हो योग अर्थात ब्रह्मलीन हुनु। योगका थुप्रै अर्थहरु छन्। जीव र परमात्माको मिलन गराउनु योगसिद्ध हुनु हो। द्वैत र अद्वैतको मिलन नै योग हो (the connection between the spiritual or the world of idea and the material world) दुई पदार्थ मिलेर नौलो स्वरूप बन्नु पनि योग हो। जस्तै कि हाइड्रोजन (hydrogen) र अक्सिजन (oxygen) मिलेर पानी (water) बन्नु। यो रासायनिक मिलनको पनि महत्व छ। यस्ता विज्ञानमा थुप्रै उदाहरणहरु आउँछन्। विश्वप्रसिद्ध नाटक अभिज्ञान शाकुन्तलमा कालिदासले भनेका छन् “उपरागान्ते शशिनः समुपगता रोहिणी योगम्“, अर्थात् – काठ र काठको मिलन र फलामको फलामसँग मिलन पनि योग हो। हरेक वस्तुको अणु (atom) नियममा बन्धित भएर वस्तुको आकार प्रकार र विशेषता जनाउँछन्। त्यस अणुको नियममा बसेर वस्तुको स्वरूप निर्धारण गर्नुलाई पनि योग भनिन्छ। एक चोटी एउटा नाटक देखाउने सिलसिलामा स्वामी विवेकानन्द र निकोला टेस्लाको (Nikola Tesla) भेट भएको थियो। त्यसअघि नै विवेकानन्दले निकोला टेस्लासँग म भेट हुन जाँदैछु भनेर लेखेका थिए, र उनको उत्सुकता थियो कि टेस्लाले शक्ति (force) र वस्तु (force) लाई गणितीय हिसाबमा प्रष्ट्याउने छन्। हुन त टेस्ला आफ्नो जीवनमा उक्त वैदिक सिद्धान्तलाई गणितीय हिसाबमा देखाउन त सफल भएनन् तर उनले प्राण, ब्रह्म र आकाश जस्ता वैदिक शब्दको सहारा लिए। उनी पूर्णतया सन्तुष्ट थिए, विवेकानन्दले दिएका वैदिक विचारहरुमा। त्यही ब्रह्मसूत्र अनुसार नै दश वर्षपछि सापेक्षतावादको सिद्धान्त प्रतिपादित भयो, जसका अविष्कारक अल्बर्ट आइन्स्टाइन (Albert Einstein) हुन्। त्यही ब्रह्मन नै असली तत्व हो, र प्राण र आकाश भनेका इनर्जी (energy) र म्याटर (Matter) हुन्, जसमा यी सबको मिलन नै योग हो भनेर टेसला र विवेकानन्दले स्पष्ट लेखेका छन्। योगका प्रकार योगका निश्चित यति नै प्रकार छन् भनेर यकिन गर्न सकिंदैन तर योगलाई आठ भागमा विभाजन गर्न सकिन्छ, जसलाई हामी अष्टांग योग पनि भन्न सक्छौं। त्यसमा पाँच बहिरंग योग हुन् भने तीन चाहिँ अन्तरंग योग। बहिरंग योगमा यम, नियम, आसन, प्राणायाम र प्रत्याहार पर्दछन् भने अन्तरंग योगमा धारणा, ध्यान र समाधि। दैनिक गरिने प्रक्रिया नै बहिरंग योग हुन्, जस्तै – विहान उठ्ने, नुहाउने, सफा हुने, प्राणायाम गर्ने (श्वास प्रश्वास को प्रक्रिया), र हठयोग वा एक्सरसाइज आदि गर्ने। यी सबै प्रक्रिया अन्तरंग योगका लागि पूर्व तयारी हो। अन्तरंग योग कठिन र निकै नै संवेदनशील हुन्छ। बहिरंग योग बाहिरको अंगसँगको क्रिया भन्ने बुझिन्छ, र अन्तरंग योग चाहिँ केवल अन्तःकरण हुनु भन्ने बुझिन्छ। यी अष्टांग योगलाई योगदर्शनमा अर्थात् योगसूत्रमा यसरी प्रस्तुत गरिएको छ, (यम–नियम–आसन–प्राणायाम–प्रत्याहार–धारणा–ध्यान–समाधयोकष्टावंगानी। (योगदर्शन २/२९) विभिन्न सम्प्रदाय र योग कतिपय सम्प्रदाय मानवजातिकै लागि भनेर पनि प्रणयन भएका छन् भने कतिपय साधारण जीवनयापनका लागि पनि त्यति सहज देखिंदैनन्। तर पनि तिनले आफूलाई यस धरातलमा जबर्जस्ती नै सही स्थापित गराइरहेका छन्। तर योग भनेको कुनै धार्मिक सम्प्रदाय जस्तो खुम्चिएको हुँदैन। योगले जीवनका सम्पूर्ण सारभूत पक्षलाई विविध किसिमले उजागर गर्दछ। यसरी व्याख्या गर्दै जाने हो भने यसको अन्त्य छैन। अब यहाँ विभिन्न वैचारिक सम्प्रदायले योगलाई कसरी लिएका छन् भनेर टिप्ने कोशिश गरिएको छः योगश्चित्तवृत्तिनिरोधः –पतञ्जली, योगदर्शन) चित्तवृत्ति निरोध नै योग हो. कुशल चितैकग्गता योगस् (बौद्ध दर्शन) – कुशल चित्तको एकाग्रता योग हो. योगः संयोग इत्युक्तः जीवात्म परमात्मने (विष्णुपुराण) जीवात्मा र परमात्माको पूर्णतया मिलन नै योग हो। सिद्ध्यसिद्ध्यो समोभूत्वा समत्वं योग उच्चते (भगवाद्गीता) दुःख (सुख, लाभ अलाभ शत्रु र मित्र, शीतल र ऊष्ण गर्मी आदि द्वन्द्व मा सर्वत्र समभाव राख्नु नै योग हो। जति पनि योगका प्रकार निर्माण भए ती सबै यही अष्टांग योग अन्तर्गत निहित छन्। ध्यानयोग, ज्ञानयोग, कर्मयोग, भक्तियोग, हठयोग, राजयोग, संचारयोग आदि इत्यादि। योगको गहन विश्लेषण भने भागवत गीतामा गरिएको छ जसमा कृष्णले अर्जुनलाई योगका बारेमा भनेका छन्। कर्मयोग, बुद्धियोग, संन्यासयोग जस्ता योगको व्याख्या गरिएको छ उक्त ग्रन्थमा। संसारका उच्चतम ग्रन्थ र विद्वानहरुले पनि योग र त्यसमा सुषुप्त ज्ञानलाई उजागर गर्न खोजेका छन्। तिनमा बुद्ध पनि अग्रणी स्थानमा आउने दार्शनिक मध्येकै एक हुन्। हुन त अरु प्राचीन पश्चिमा ग्रन्थहरुमा योग भनेरै उल्लेख त गरिएको छैन तर ध्यान (meditation) जस्ता शब्दहरु भने प्रयोग गरेको पाइन्छ। बाइबलमा पनि ध्यानको बेलाबखत उल्लेख छ। मुस्लिम समुदायले योगलाई निषेध गरेपनि योगका विभिन्न तरिका भने आफ्नो जीवनमा उतारेका छन् जस्तै, स्वाम जसको अर्थ हो व्रत बस्नु, र योगले व्रत बस्नुलाई निकै नै संवेदनशील ढंगले हेर्छ। महिनाको एकचोटी व्रत बस्नु त अपरिहार्य नै हो। यसमा मुस्लिम समुदाय र हिन्दु समुदायलाई धन्यवाद दिनैपर्छ। केहीवर्ष अगाडि भ्याटिकन सिटीमा पनि ध्यानप्रथाका बारेमा उल्लेख गरिएको थियो, र त्यसपछि रोमन क्याथोलिकहरुले हिन्दु, बौद्ध र जैनतत्वलाई पनि आत्मसात गरेका थिए। टिएस इलियट भन्छन् – भारतीय दार्शनिक र योगविचारका अगाडि ठूला ठूला पश्चिमा दार्शनिक पनि बच्चा सरह देखिन्छन् (Indian Philosophers subtleties make most of the great European thinkers look like schoolboys) वैज्ञानिक अर्विन स्रोडिंगर भन्छन् – पश्चिमा विचार जोगाउन र अध्यात्मिक चिन्तनलाई यथावत् राख्न पूर्वीय ज्ञानको आवश्यकता छ। (some blood transfusion from east to west is a must to save western science from spiritual anemia)। यसरी नै थुप्रै पश्चिमा दार्शनिक लेखक र वैज्ञानिकहरुले पूर्वीय सभ्यता र योग र ध्यानका बारेमा स्पष्टसँग लेखेका र बोलेका छन्। अपरिहार्य योग: योग अपरिहार्य हो, तर अहिले यो कमर्सियल भएको छ, विल्कुलै भिन्न। तर यो त्यति गलत त होइन। योग नयाँ हुनुपर्छ तर पृथक र अवैज्ञानिक हुन भने हुँदैन। एक्काइस जुनमा अन्तर्राष्ट्रिय योग दिवस भनेर घोषित गरियो, जुन सही कदम थियो, यसका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी धन्यवादका पात्र छन्। यस्ता विषय हामी नेपालीले उठाउन पर्ने हो तर अरुले नै उछिन्छन्। हुनत वामपन्थका नाममा योग, ध्यान, पूर्वीय प्राचीन इतिहास एवं वेदादिहरुलाई नकारात्मक रुपले हेर्ने समाजमा त्यस्तो आशा गर्नुपनि कति नै उपयुक्त होला र तर पनि आशा त लाग्दो रहेछ। तर भर भने अहिलेकासँग अहिलेको जेनेरेसनले त गरेकै छैन भने पनि हुन्छ। तर योगका नाममा साम्प्रदायिक हुनु चाहिँ गलत हो। योगको उद्देश्य स्वस्थ रहनुका साथसाथै आध्यात्मिक र वैज्ञानिक हुनु हो। त्यसै भएको हुनाले योगी निरोगी हुन्छ।




Leave comment