CDOLIVE.IN

  Friday , September 22 , 2017 8:01AM


२५ वर्षपछि म्यारोडोना म्याड्रिडको रंगशालामा

post_image
महान खेलाडी अर्जेन्टिनाका डिएगो म्याराडोना 25 वर्षपछि बेर्नाबेउमा उपस्थित हुँदै

सिलगढ़ी 16 फरवरी- विश्व फुटबलका महान खेलाडी अर्जेन्टिनाका डिएगो म्याराडोना 25 वर्षपछि आफ्नो प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिडको सान्टियागो बेर्नाबेउ रंगशालामा उपस्थित हुँदैछन्। 56 वर्षीय पूर्व स्टार नेपोलीको खेल हेर्न 10 हजार समर्थकसँगै सान्टियागो रंगशालामा उपस्थित हुने क्लबले पुष्टी गरेको छ। इटालीको नेपोली क्लबलाई ‘बी’ डिभिजनबाट ‘ए’ मा प्रवेश गराउँदै 90 को दशकमा दुईवटा लिग उपाधि र युइएएफ कपको उपाधि दिलाउन उनले महत्वपूर्ण योगदान दिएका थिए। नेपोली क्लबलाई विश्वमा चिनाउन म्याराडोनाले योगदान ठूलो मानिन्छ। यसैले क्लबका वर्तमान अध्यक्ष अयुरेलियो डे लाउरेन्टिसले उनलाई च्याम्पियन्स लिगअन्तर्गत अन्तिम 16 को ‘अवे’ खेल हेर्न विशेष निमन्त्रणा गरेका थिए। जसलाई म्याराडोनाले स्वीकार गरेका थिए। उनलाई नेपोली क्लबका खेलाडी बसोबास गरेको होटलमा विशेष अतिथिको रुपमा बस्ने व्यवस्था क्लबले मिलाएको छ। क्लब पदाधिकारीका अनुसार खेल सुरु हुनुभन्दा अगाडि म्याराडोनाले खेलाडीलाई केही प्रेरणादायी अनुभव सुनाउने छन्। म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले म्याराडोना महान फुटबल खेलाडी भएपनि उनको आगमनले आफ्नो टोलीको खेलमा खासै प्रभाव नपर्ने प्रतिक्रिया दिएका छन्। उनले आफूले नेपोली क्लबका अन्य खेलाडीसँग खेल्नु पर्ने भएको कारण उनीहरूसँग बढी सजकता अपनाउनु पर्ने बताए। म्याराडोना पछिल्लो पटक सेभिलमा अनुबन्धित हुँदा सन् 1992–93 को सिजन फुटबल खेल्न सान्टियागो आएका थिए। सान्टियागो रंगशालामा म्याराडोनाको विगत तितो–मिठो दुवै छ। उनी सन् 1982 मा बार्सिलोनामा अनुबन्धित भएपछि पहिलो पल्ट ‘अल क्लासिको’ भिड्न्तका लागि म्याड्रिड आएका थिए। त्यतिबेला बार्सिलोनाले 2–0 ले जितेको खेलमा दुवै गोलको मौका उनले नै जुराएका थिए। उनकै पासमा इस्टेबान र क्युनीले गोल हानेका थिए। उनको सबैभन्दा यादगार खेल यसै वर्ष कोपा डे ला लिगाको थियो। जुन खेलमा उनले दुई गोल गरेका थिए। 

उनले यस खेलमा गरेको एउटा गोल विश्वस्तरको थियो। उनले मैदानको बीचबाट ‘ड्रिबल’ गर्दे ल्याएको बल म्याड्रिडका गोलरक्षक अगस्टिन र डिफेन्डर हुँवा जोसेलाई अन्त्यमा छलाएर खाली पोस्टमा गोल गरेका थिए। दुर्भाग्य, यो खेल 2–2 को बराबरीमा रोकिएको थियो। तर, कहिल्यै विपक्षी टोलीको प्रसंसा नगर्ने म्याड्रिडका समर्थकले यो खेलका लागि म्याराडोनाको खुब तारिफ गरेका थिए। यस्तै, समर्थन रोनाल्डिन्होले म्याड्रिडविरूद्ध ह्याट्रिक गर्दा 2005 मा बेर्नाबेउमा पाएका थिए। सन् 1984 को कोपा डेल रेको एउटा खेल निकै विवादास्पद बन्न पुगेको थियो। यतिबेला म्याड्रिडको ठाउँमा तत्कालिन लिग च्याम्पियन एट्लेटिको बिलबाओसँग सान्टियागोमा खेल भएको थियो। जसमा बिलबाओका डिफेन्डर आन्डोनी गोइकोइटेक्सियाको खराब ‘ट्याकल’ का कारण म्याराडोनाको खुट्टा भाँचियो।

म्याराडोना 4 महिना मैदानबाट बाहिर रहे। यसका लागि आन्डोनीलाई 18 खेलमा प्रतिबन्ध सुनाइएको थियो। अपिल पछि यसलाई घटाएर 10 खेलमा सिमित राखियो। आन्डोनीलाई त्यतिबेला ‘बिलबाओका कसाई’ भनिन्थ्यो। यही खेलमा बिलबाओका प्रशिक्षक जाभियर क्लेमेन्टेले म्याराडोनालाई ‘दूर्बल’ खेलाडीको संज्ञा दिएका थिए। उनले भनेका थिए–‘महान खेलाडी तर दूर्बल। मैले उनकै अगाडि भने। उनी सधै 2 सय जति बडिगार्डबाट घेरिएका हुन्थे।’ यो खेल बिलबाओले आन्डोनीकै गोलका कारण 1–0 ले जित्यो। तर, त्यसपछि मैदानमा जुन घटना भयो, त्यसलाई अहिले पनि ‘बेर्नाबेउको लडाइँ’ को रुपमा अथ्र्याउने गरिन्छ। खेल सकिएपछि बार्सिलोनका कप्तान मिगुल एन्जेल सोलाले कराते शैलीमा उडेर बिलबाओका खेलाडीलाई हिर्काएका थिए। 

यो घटनापछि मिगुलको नाम पनि टार्जनमा रुपान्तरण भएको थियो। बेर्नाबेउ मैदान लडाइँमा परिणत भएपछि म्याराडोनाले खेलाडीहरूको बचाउमा भनेका थिए, ‘उनीहरू सबै मेरो लागि आएका थिए। अब जे हुनु थियो, भयो।’ नेपोलीमा आवद्ध हुँदा म्याराडोनाले 1987 मा बेर्नाबेउको खाली रंगशालामा म्याड्रिडविरूद्ध खेलेका थिए। त्यतिबेला दर्शकको खराब व्यवहारका कारण युरोपेली फुटबल महासंघले बेर्नाबेउको खाली रंगशालामा खेल खेलाउने आदेश दिएको थियो। आज म्याराडोना करिब एक लाख दर्शक सामु बेर्नाबेउ रंगशालामा आफ्नो पूर्व क्लबको खेल हेर्नेछन्।




Leave comment